कोरोना भाइरससम्बन्धी हल्लाकाे पछि नलाग्न गृह मन्त्रालयको आग्रह - news24 Nepal

Wednesday, March 11, 2020

कोरोना भाइरससम्बन्धी हल्लाकाे पछि नलाग्न गृह मन्त्रालयको आग्रह

काठमाण्डौ  - कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ । 
आज विज्ञप्ती निकालेर गृह मन्त्रालयले भाइरसको सङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो  ।
सरकारले सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव केदारनाथ शर्माले आग्रह गर्नुभएको छ । 
यस्तै मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ । कसैले कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । 
मन्त्रालयले सामाजिक सञ्जाल र संचारमाध्यमले डर पैदा गर्ने खालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचना मात्रै प्रवाह गर्न पनि संचारमाध्यमलाई आग्रह गरेको छ ।
यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याक्ने, शरीरमा रंग र अबीर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाडमा नहिँड्न, स्वास्थ्यमा ध्यान दिन र भोजभतेर, मेला र सम्मेलनलगायतका कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।