विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।
यही बीचमा अमेरिकाले कोरोना भाइरसबाट अर्थतन्त्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ब्याजदर घटाइदिएको छ । त्यसले पनि डलरको भाउ उच्च भएर गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि खरिद मूल्य ११८ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ११८ रुपैयाँ ९० पैसा कायम गरेको छ । यो अहिलेसम्मकै महँगो हो । गएको वर्ष आजकै दिन १ अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
