सङ्खुवासभा – पाँच किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध सङ्खुवासभा जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध ३० करोड रुपैयाँभन्दा बढी बिगो दावी गर्दै मुद्दा दायर गरेको अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईँले बताउनुभयो ।
प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलोग्राम सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागले चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै रु १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको हो ।
राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सातजनाको समूहको मिलेमतोमा यसअघि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै रु १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दावीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईँले बताउनुभयो ।
पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् ।