पूर्वमन्त्री बास्कोटाको घर नजिकै बम विस्फोट - news24 Nepal

Wednesday, March 11, 2020

पूर्वमन्त्री बास्कोटाको घर नजिकै बम विस्फोट


भक्तपुर – पूर्वसञ्चार तथा सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको नवनिर्मित घर नजिकै बम विस्फोट भएको छ । 
मध्यपुरथिमि नगरपालिका १ को लोकन्थलीको मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान साढे ७ बजेतिर प्रेसर कुकर बम विस्फोट भएको हो । 
बम विस्फोटबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो । 
बम बिस्फोटबाट  बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा पनि क्षति पुगेको उहाँले जानकारी दिनुभयो । पूर्वमन्त्री बास्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरको सिसा समेत फुटेको छ । बम कसले विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको डीएसपी कोईरालाले जानकारी दिनुभयो । 
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चार मन्त्री बास्कोटा स्विस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको थियो । 
पूर्वमन्त्री बास्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटमा रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ ।